दर्शकहरुका बीच आर्सनलको शानदार जित (भिडियोसहित)

एजेन्सी । करिब आठ महिना पछि घरेलु मैदानमा समर्थकहरु फर्किएको खेलमा लण्डन क्लब आर्सनलले युरोपा लिगतर्फ शानदार जित हात पारेको छ ।

स्मरण रहोस, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले केही साता अघि मात्र कोरोना भाइरसको त्रास कम भएको शहरहरुमा खेलकुद गतिविधी हुँदा सिमित संख्यामा दर्शकहरुले स्टेडियममा उपस्थिति जनाउन सक्ने घोषणा गरेका थिए ।

इङलिस प्रिमियर लिगमा खासै राम्रो गर्न नसकिरहेको आर्सनलले बिहीबार राती इमिरेटस स्टेडियममा रेपिड भियनालाई ४–१ ले हरायो । समूह बी मा रहेको आर्सनल नकआउट चरणमा पुग्ने आफ्नो समूहबाट एक्लो टोली समेत हो ।

खेलको दशौं मिनटमै अलेक्जेन्डर लाकाजेटीले आर्सनलका लागि गोलको खाता खोलेका थिए । १८औं मिनटमा पाब्लो मारीले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफ कै ४४औं मिनटमा इडवार्ड निकिटियाहले तेस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारे ।

दोस्रो हाफमा भने भियनाले खेलमा फर्कने प्रयास गरे । ४७औं मिनटमा कोया किटागावाले पाहुना टोलीका लागि गोल गर्दै आर्सनलमाथि दबाब दिने प्रयास गर्यो । तर सफल भएन ।

उता ६६औं मिनटमा इमिले रोवीले आर्सनलका लागि चौथो गोल गर्दै समर्थकहरुका बीच घरेलु टोलीको जित थप विशेष बनाए । यो नतिजासँगै ५ खेलबाट ५ जित निकालेको आर्सनल १५ अंकका साथ शिर्ष स्थानमा छ र नकआउट चरणमा प्रवेश गरेको छ ।

पराजित रेपिड भियना भने ६ अंकका साथ तेस्रो स्थानमा छ । समूह बी तर्फ कै अर्को खेलमा मोल्डेले डुन्डकलाई ३–१ ले हरायो र ९ अंकका साथ दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । उता पराजित डुन्डक भने अंकविहीन रुपमा पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...