बराबरीका बावजुद नकआउट चरणमा टोटेनह्याम (भिडियोसहित)

एजेन्सी । युरोपा लिगतर्फ बिहीबार राती इङलिस क्लब टोटेनह्याम हटसपरले अष्ट्रियन क्लब लास्कसँग ३–३ गोलको बराबरी खेल्न बाध्य भएको छ । यद्यपि यो बराबरी नतिजाका बावजुद टोटेनह्याम नकआउट चरणमा प्रवेश गर्न भने सफल भएको छ ।

अष्ट्रियाको लिन्ज स्थित लिन्जरी स्टेडियममा भएको खेलमा पिटर मिचोरीको गोलबाट लास्कले खेलमा अग्रता बनाएको थियो । यद्यपि पहिलो हाफ कै इन्जुरी समयमा गारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

खेलको दोस्रो हाफ भने थप रोमाञ्चक बन्यो । ह्युङ मिन सोनले टोटेनह्यामका लागि ५६औं मिनटमा गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाए । तर खेलको अन्तिम समय नाटकीय बन्न पुग्यो ।

८४औं मिनटमा जोहानेस इजिस्टिनले लास्कका लागि गोल गर्दै खेललाई २–२ को बराबरी ल्याए । तर त्यसको दुई मिनट लगतै डेले अलीले गोल गर्दै टोटेनह्यामलाई खेलमा ३–२ को अग्रता दिलाए ।

तर पनि लण्डन क्लबको त्यो अग्रता धेरैबेर टिक्न सकेन । खेलको अन्तिमतिर इन्जुरी समयमा ममुदु करामोकोले लास्कका लागि तेस्रो गोल फर्काउँदै खेललाई रोमाञ्चक ३–३ गोलमा समापन गरेका थिए ।

यो नतिजाका बावजुद ५ खेलबाट १० अंक जोडेको टोटेनह्याम समूह जे को दोस्रो स्थानमा छ र नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै १२ अंकका साथ शिर्ष स्थानमा रहेको बेल्जियन क्लब एन्टविर्प पनि नकआउट चरणमा पुगेको छ ।

एन्टविर्पले बिहीबार राती नै भएको अर्को खेलमा बुल्गेरियन क्लब राजग्रेडलाई ३–१ ले हराएको थियो । त्यस्तै उता ७ अंक जोडेको लास्क र अंकविहीन राजग्रेड भने समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...