च्याम्पियन्स लिगमा मेसी बिना पनि बार्सा सफल (भिडियोसहित)

एजेन्सी । क्याटलन जायन्ट बार्सिलोनाले च्याम्पियन्स लिगतर्फ आफ्ना सुपरस्टार लियोनल मेसी बिना पनि प्रभावशाली जित हात पारेको छ । र, समूह जी बाट समूह विजेता बन्ने लगभग पक्का गरेको छ ।

बुडापेष्टमा भएको खेलमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभरोसलाई ३–० ले हरायो । बार्साका लागि १४औं मिनटमा एन्टोइन ग्रीजम्यानले पहिलो गोल गरे । लगतै २०औं मिनटमा मार्टिन ब्राथवेटले त्यो अग्रता दोब्बर पारे ।

पहिलो हाफ मै तीन गोल गरेको बार्सिलोनाका लागि २८औं मिनटमा उसमान डेम्बेलेले पेनाल्टीबाट तेस्रो गोल गरे । ब्राथवेटलाई विपक्षी खेलाडीले बक्स भित्र लडाएपछि बार्साले पेनाल्टीको अवसर पाएको थियो ।

बुधबारको खेलमा म्यानेजर रोनाल्ड कोमनले लियोनल मेसीसँगै केही खेलाडीहरुलाई आराम दिएको थियो भने प्लेइङ सेट पनि केही परिवर्तन गरेका थिए । यो जितसँगै ५ खेलबाट १५ अंकका साथ शिर्ष स्थानमा छ ।

१२ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा छ । समूह जी बाट बार्सासँगै युभेन्टस पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ । त्यस्तै समान १–१ अंक बटुलेका डाइनामो किभ र फेरेन्कभरोस क्रमश तेस्रो र चौथो स्थानमा छन् र यी दुई टोलीको युरोपा लिग खेल्ने सम्भावना कायम छ ।

समूह चरणतर्फको अन्तिम खेलमा अब बार्सिलोनाले युभेन्टससँग क्याम्प नोउ मै ८ डिसेम्बरका दिन खेल्नेछ भने सोही दिन फेरेन्कभरोसले डाइनामो किभसँग भिड्नेछ ।

क्याम्प नोउमा मेसी र रोनाल्डोको भेट हुने भएपछि विश्व फुटबल जगतको ध्यान फेरि अर्को साता क्याटलन क्यापिटलतिर हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...