ओल्ड ट्राफोर्डमा पिएसजी सफल, नकआउट चरण पुग्ने होड खुला

एजेन्सी । च्याम्पियन्स लिगतर्फ म्यानचेष्टर युनाइटेडले घरेलु मैदान मै पेरिस सेन्ट जर्मेनसँग स्तब्धपुर्ण हार बेहोर्दा समूह एचबाट नकआउट चरणमा पुग्ने तीन टोलीहरुको सम्भावना खुला भएको छ ।

ओल्ड ट्राफोर्डमा पिएसजीले म्यानचेष्टर युनाइटेडलाई ३–१ ले हरायो । पिएसजीको जितमा नेमारले दुई गोल गरे । उनले खेलको छैटौं मिनटमै गोलको खाता खोेलेका थिए ।

तर मार्कस रेशफोर्डले ३२औं मिनटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन सफल भए । पहिलो हाफसम्म खेल १–१ कै बराबरीमा टुंगिएको थियो । यद्यपि ६९औं मिनटमा मार्किन्होजले पिएसजीको अग्रता दोब्बर पारे ।

त्यसको एक मिनट लगतै म्यानचेष्टरका फ्रेडले दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएपछि घरेलु टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा नेमारले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रेन्च च्याम्पियनको जित पक्का गरे ।

समूह एच मा तीन टोलीको नकआउट चरण पुग्ने सम्भावना

बुधबारको खेलपछि समूह एच मा म्यानचेष्टर युनाइटेड र पिएसजीको समान ९–९ अंक भएको छ । गोल भिन्नताका आधारमा म्यानचेष्टर शिर्ष स्थानमा छ । त्यति मात्र नभएर बुधबार नै इस्तानबुल बशकसेहिरलाई ४–३ ले हराएको आरबी लिपजिगको पनि ९ अंक भएको छ ।

यी तीनै टोलीको नकआउट चरण पुग्ने सम्भावना कायम छ । जसको छिनोफानो आगामी साता हुने समूह चरणको अन्तिम खेलबाट टुंगो लाग्नेछ । त्यस्तै ३ अंक मात्र जोड्दै पुछारमा रहेको इस्तानबुल भने समूह चरणबाटै बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...