चेल्सीको जितमा जिरुडको चार गोल (भिडियोसहित)

एजेन्सी । फ्रेन्च फरवार्ड ओलिभर जिरुडले एक्लैले चार गोल गरेपछि लण्डन क्लब चेल्सीले च्याम्पियन्स लिगतर्फ बुधबार राती स्पेनिस क्लब सेभियालाई उसकै घरमा ४–० ले हराएको छ ।

साथै यो जितसँगै समूह ई बाट चेल्सीले समूह विजेता बन्ने सम्भावना पनि बलियो बनाएको छ । जिरुडले पहिलो गोल आठौं मिनटमा काइ हेभर्जको पासमा गरे । चेल्सीले पहिलो हाफसम्म १–० कै अग्रता कायम राख्यो ।

दोस्रो हाफमा भने फ्रेन्च स्टारले आफ्नो ह्याट्रिक पूरा गर्न सफल भए । उनले ५४औं मिनटमा दोस्रो गोल गरे । त्यस्तै ७४औं मिनटमा तेस्रो गोल गर्दै ह्याट्रिक समेत पूरा गरे ।

त्यस्तै खेलको अन्तिमतिर जिरुडलाई विपक्षी खेलाडीले बक्स भित्र फल गर्दा चेल्सीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई उनले ८३औं मिनटमा गोलपोष्टको जाली चुमाउँदै ब्लुजको शानदार जित पक्का गरेका थिए ।

स्मरण रहोस, समूह ई बाट चेल्सीसँगै सेभिया पनि नकआउट चरणमा प्रवेश गरिसकेको छ । ५ खेलबाट १३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ भने १० अंकका साथ सेभिया दोस्रो स्थानमा छ ।

उता बुधबार नै समूह ई तर्फको अर्को खेलमा क्रसनोडारले रेनेसलाई १–० ले हरायो र ४ अंक जोड्न सफल भयो । यो जितपछि क्रसनोडार युरोपा लिगका लागि समेत छनौट हुन सफल भयो । १ अंक जोडेको रेनेस भने पुछारमा रहँदै समूह चरणबाटै बाहिरिन पुगेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...