युभेन्टसको जितमा रोनाल्डोको ७५०औं गोल (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगतर्फ बुधबार राती इटालियन च्याम्पियन युभेन्टसले प्रभावशाली जित हात पार्दा क्लबका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले करियरको ७५०औं गोल पूरा गरेका छन् ।

समूह जी बाट यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको युभेन्टसले बुधबार राती घरेलु मैदानमा युक्रेनियन क्लब डाइनामो किभलाई ३–० ले हरायो । खेलको २१औं मिनटमा फेडरिको चिसाले युभेन्टसका लागि पहिलो गोल गरे ।

पहिलो हाफसम्म युभेन्टसले १–० कै अग्रता कायम राख्यो । तर दोस्रो हाफको ५७औं मिनटमा रोनाल्डोले घरेलु टोलीको अग्रता दोब्बर पारे । करियरको ७५०औं गोल गरेका रोनाल्डोले विशेष खुशी समेत मनाए ।

त्यस्तै ६६औं मिनटमा अल्वारो मोराटाले तेस्रो तथा अन्तिम गोल गर्दै तुरीनमा युभेन्टसको प्रभावशाली जित पक्का गरे । यो जितसँगै ५ खेलबाट १२ अंक जोडेको युभेन्टस समूह जी तर्फ दोस्रो स्थानमा छ । पराजित किभ भने १ अंकका साथ तेस्रो स्थानमा छ र उसको युरोपा लिग खेल्ने सम्भावना अझै कायम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...