म्यानचेष्टरका पूर्व स्टार विंगरले भने “पोग्बाले क्लब छोडे राम्रो”

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बालाई क्लबकै पूर्व स्टार विंगर आन्द्रे केन्चेल्कीसले क्लब छाड्न सुझाव दिएका छन् ।

चार बर्ष अघि सन् २०१६ मा किर्तिमानी ८९ मिलियन पाउण्डमा ओल्ड ट्राफोर्ड आएका पोग्बा रेड डेविल्सका लागि खासै राम्रो लयमा देखिएका छैनन् । बरु उनी पछिल्लो समय यता ओल्ड ट्राफोर्ड छाड्दै अन्य क्लबमा गएर नयाँ चुनौतिको सामना गर्न चाहेको प्रतिक्रिया दिंदै आइरहेका छन् ।

स्मरण रहोस, पोग्बालाई अनुवन्ध गर्न उनकै पूर्व क्लब युभेन्टस र रियल मेड्रिड इच्छुक रहेको बताइएको छ । केही साता अघि पोग्बा स्वयमले ‘रियल मेड्रिडका लागि खेल्नु सबै खेलाडीहरुको एउटा सपना हुन्छ’ भनेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

यद्यपि पोग्बाको यस्तो भनाईबारे म्यानचेष्टर युनाइटेडका पूर्व विंगर भने खुशी देखिएनन् । उनका अनुसार पोग्बाले क्लब छाडे अझ राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

केन्चेल्कीस भन्छन्, “पोग्बा धेरै क्लब छाड्ने कुरा गर्छन् । त्यसैले मलाई लाग्छ उनले क्लब छाडे अझ राम्रो हुने थियो । सधै यो मन परेन, त्यो मन परेन भन्नु भन्दा बरु क्लब छोडेर गए हुन्छ । यदि तपाईं म्यानचेष्टर युनाइटेडमा आउन चाहनुहुन्छ र खेल्न चाहनुहुन्छ भने पूरै मनले खेल्नुपर्छ र शतप्रतिशत खेल्नुपर्छ ।”

त्यति मात्र नभएर उनले पोग्बाका एजेन्ट मिनो रायओलालाई पनि दोषी देख्छन् । उनी अगाडी भन्छन्, “यो कुरामा रायओलाले पनि निकै प्रभाव पारेका छन् । रायओलाले सधै पोग्बा म्यानचेष्टर युनाइटेडमा खुशी नरहेको कुरा बताउँदै आएका छन् ।”


प्रतिक्रिया दिनुहोस

Loading...