बार्सिलोनाका स्टार डिफेन्डरलाई कोरोना पोजिटिभ

एजेन्सी । क्याटलन जायन्ट बार्सिलोनाका स्पेनिस स्टार डिफेन्डर सर्जि रोबर्टोलाई कोरोना भाइरसको संक्रमण भएको छ । २८ बर्षिय यी फुलब्याक डिफेन्डरलाई कोभिड–१९ पोजिटिभ देखिएको बुधबार क्लबले पुष्टी गरेको छ ।

नयाँ म्यानेजर रोनाल्ड कोमनको आगमनपछि बार्सिलोनाको स्क्वाडमा निरन्तर अहम खेलाडीका रुपमा स्थान बनाएका रोबर्टोले क्लबका लागि अन्तिमपटक नोभेम्बर २१ तारीखका दिन खेलेका थिए । त्यतिबेला बार्सिलोनाले एटलेटिको मेड्रिडसँग १–० को हार बेहोरेको थियो ।

सो खेलमा रोबर्टो पनि चोटिल बनेका थिए । रिपोर्टअनुसार उनको साप्रामा चोट लागेको छ । साथै उनी आउँदो नयाँ बर्ष (२०२१) सम्म फिट नहुने बताइएको छ । तर पनि उनी आफूलाई निरन्तर शारीरिक रुपमा फिट राख्न अन्य शारीरिक अभ्यासमा व्यस्त राख्न तल्लिन थिए ।

क्लबका लागि आफ्ना खेलाडीहरुको नियमित कोभिड–१९ चेकजाँचका क्रममा रोबर्टोको नतिजा पोजिटिभ आएको हो । उनी कम्तिमा पनि दश दिन क्वारेन्टिनमा बस्नुपर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...