एनफिल्डमा जितसँगै लिभरपुल समुह विजेता (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगतर्फ इङलिस च्याम्पियन लिभरपुलले मंगलबार घरेलु मैदानमा कठिन जित निकाल्दै समूह डी को विजेता बनेको छ । साथै रेडस नकआउट चरणमा समेत प्रवेश गरेको छ ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले डच क्लब एजाक्सलाई १–० ले हरायो । दोस्रो हाफतर्फ ५७औं मिनटमा विपक्षी गोलरक्षकको गल्तीको फाईदा उठाउँदै कर्टिस जोन्सले गरेको एक मात्र गोल निर्णायक बन्यो । च्याम्पियन्स लिगमा जोन्सको त्यो डेब्यु गोल समेत थियो ।

यो जितपछि ५ खेलबाट १२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा छ र नकआउट चरणमा पुग्नुका साथै समूह विजेता समेत बन्न सफल भएको छ । पराजित एजाक्स भने ७ अंकका साथ तेस्रो स्थानमा छ ।

मंगलबार नै भएको समूह डी तर्फको अर्को खेलमा इटालियन क्लब एटलान्टाले मिडजील्याण्डसँग १–१ को बराबरी खेल्यो र नकआउट चरणमा पुग्ने अवसरबाट चुक्न पुग्यो । ८ अंक जोडेको एटलान्टा दोस्रो स्थानमा छ र उसको नकआउट चरणमा पुग्ने टुंगो ९ डिसेम्बरका दिन हुने एजाक्ससँगको अन्तिम खेलबाट नै लाग्नेछ ।

एक अंक जोडेको मिडजील्याण्ड भने समूह डी तर्फ पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ । अब समूह डी बाट नकआउट चरणमा पुग्ने थप एक टोलीको टुंगो एटलान्टा र एजाक्सको खेलबाट नै लाग्नेछ । उता लिभरपुलले समूह चरणको अन्तिम खेल ९ डिसेम्बर कै दिन मिड्जील्याण्डसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...