डिफेन्डिङ च्याम्पियन बायर्न हारबाट जोगियो (भिडियोसहित)

एजेन्सी । यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको साविक विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगतर्फ मंगलबार राती हारबाट जोगिएको छ । मेड्रिडमा भएको खेलमा बायर्नले घरेलु टोली एटलेटिको मेड्रिडसँग १–१ को बराबरी खेल्यो ।

खेलको २६औं मिनटमा जोआओ फेलिक्सको गोलबाट एटलेटिकोले अग्रता लिएको थियो । तर त्यो अग्रता अन्तिम केही मिनट जोगाउन सकेन । उता बायर्नका लागि ८६औं मिनटमा थोमस मुलरले पेनाल्टीबाट गोल गर्दै पाहुना टोलीको सम्भावित हार टारेका थिए ।

यो नतिजापछि ५ खेलबाट १३ अंक जोडेको बायर्न शिर्ष स्थान मै यथावत छ । ६ अंक जोडेको एटलेटिको भने दोस्रो स्थानमा छ । मंगलबारको खेल एटलेटिकोले जितको भए उसको नकआउट चरणको यात्रा पक्का हुने थियो । अब एटलेटिकोले अन्तिम तथा निर्णायक खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जबर्गसँग ९ डिसेम्बरका दिन उसकै घरमा खेल्नेछ ।

उता मंगलबार राती नै लोकोमोटिव मस्कोलाई ३–१ ले हराएको साल्जबर्ग ४ अंकका साथ तेस्रो स्थानमा छ भने ३ अंक जोडेको मस्को पुछारमा छ । र, नकआउट चरणमा प्रवेश गर्ने यी तीनै टोलीको सम्भावना पनि कायम नै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...