पाँचौं स्थानमा उक्लियो वेस्ट ह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ प्रतिस्पर्धात्मक जितका साथ लण्डन क्लब वेस्ट ह्याम युनाइटेड लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सोमबार राती भएको खेलमा वेस्ट ह्यामले नवआगन्तुक टोली एस्टन भिल्ला माथि २–१ को जित निकाल्दै पाँचौं स्थानमा उक्लिन सफल भएको हो ।

खेल शुरु भएको दोस्रो मिनट मै एन्जेलो ओगबोनाको गोलबाट वेस्ट ह्यामले खेलमा अग्रता लिएको थियो । तर लण्डन स्टेडियममा ज्याक ग्रीलीसले २५औं मिनटमा भिल्लाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा सकिए तापनि दोस्रो हाफको शुरुवात मै वेस्ट ह्यामले दोस्रो गोल गर्न सफल भएको थियो । खेलको ४६औं मिनटमा जेरोड बोवेनले दोस्रो गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाउन सफल भए ।

यो जितसँगै १० खेलबाट १७ अंक जोडेको वेस्ट ह्याम पाँचौं स्थानमा उक्लिएको छ । समान अंक भए तापनि साउथह्याम्पटन गोल भिन्नताका आधारमा पछि पर्दै छैटौं स्थानमा छ । पराजित भिल्ला भने १५ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...