रेलिगेशन क्षेत्रबाट बाहिरियो फुलह्याम (भिडियोसहित)

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ नवआगन्तुक टोली फुलह्यामले महत्वपूर्ण जित निकाल्दै लिगतालिकामा रेलिगेशन क्षेत्रबाट बाहिर निस्किन सफल भएको छ ।

महत्वपुर्ण जित निकाल्ने क्रममा फुलह्यामले लेस्टर सिटीलाई उसकै घरमा २–१ ले निराश तुल्यायो । पहिलो हाफमा दश मिनटको अन्तरालमा गरेको दुई गोल नै फुलह्यामलाई जित दिलाउन प्रर्याप्त बन्यो ।

खेलको ३०औं मिनटमा अडिमोला लुकमानले पहिलो गोल गरे । त्यसको आठ मिनट लगतै फुलह्यामले पेनाल्टीको अवसर पायो । जसलाई इभान कावालिरोले गोलमा परिणत गर्न सफल भएका थिए ।

उता खेलको अन्तिमतिर ८६औं मिनटमा हार्वे बार्नेसले लेस्टरका लागि एक गोल फर्काए तापनि घरेलु टोलीको हार टार्न सकेनन् । यो हारसँगै लेस्टरले लिगलिडर टोटेनह्यामसँगको अंक बराबरी गर्नबाट समेत चुकेको छ ।

जितपछि १० खेलबाट ७ अंक जोडेको फुलह्याम रेलिगेशन क्षेत्र छाड्दै १७औं स्थानमा उक्लिएको छ । उता पराजित लेस्टर भने १८ अंकका साथ चौथो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...