पिर्लो चाहन्छन ‘युभेन्टसले रोनाल्डो बिना पनि जित्न सिकोस’

एजेन्सी । इटालियन च्याम्पियन युभेन्टसका म्यानेजर आन्द्रे पिर्लो क्लबका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको अनुपस्थितिमा पनि टिमले जित्न सिकोस भन्ने चाहन्छन् ।

स्मरण रहोस, इटालियन सिरि ए तर्फ शनिबार बेनेभिन्टो विरुद्धको खेलमा रोनाल्डोलाई आराम दिइएको थियो । सो खेलमा युभेन्टसले १–१ को बराबरी खेल्न बाध्य भएको थियो ।

सो खेलमा अल्वारो मोराटाको गोलबाट शुरुवाती अग्रता बनाएर पनि युभेन्टसले १–१ को बराबरीमा चित्त बुझाउनु परेको थियो । त्यति मात्र नभएर खेलको अन्तिमतिर इन्जुरी समयमा मोराटाले रातो कार्डको समेत सामना गर्नु परेको थियो । हाल युभेन्टस लिगतालिकाको चौथो स्थानमा छ र लिगलिडर एसी मिलान भन्दा ६ अंकले पछाडी छ ।

टिममा रोनाल्डोको अनुपस्थिति र प्रभावबारे बोल्दै पिर्लो भन्छन्, “रोनाल्डो हाम्रो लागि महत्वपूर्ण खेलाडी हुन् । उनी यसअघि रियल मेड्रिडमा पनि महत्वपूर्ण खेलाडी थिए । उनी एक अदभुत खेलाडी हुन् । तर यस्तो खेलहरुमा हामीले रोनाल्डो बिना पनि जित्न सिक्नुपर्छ ।”

स्मरण रहोस, युभेन्टसले सिरि ए तर्फ आफूले खेलेको पछिल्ला ९ अवे खेलहरु मध्ये एक खेलमा मात्र जित हात पारेको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...