म्यानचेष्टरको जितमा काभानी नायक (भिडियोसहित)

एजेन्सी । इडिन्सन काभानी नायक साबित भईदिंदा इङलिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले शुरुवाती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै आइतबार रोमाञ्चक जित हात पारेको छ ।

सेन्ट मेरी स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोली साउथह्याम्पटनमाथि ३–२ को जित निकाल्यो । २३औं मिनटमा जन बेडनरेकाले गोलको खाता खोल्दा साउथह्याम्पटन उत्साहित बनेको थियो । त्यसको दश मिनट लगतै जेम्स वार्ड–प्रोसले घरेलु टोलीको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म सोही अग्रता कायम राखेको साउथह्याम्पटनले विपक्षीलाई दबाबमा पनि राख्न सफल भयो । तर दोस्रो हाफमा भने म्यानचेष्टरले उत्कृष्ट पूनःरागमन गर्यो । ५९औं मिनटमा म्यानचेष्टरका लागि ब्रुनो फर्नान्डेसले पहिलो गोल गरे । त्यो गोलका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका काभानीले पास मिलाइदिएका थिए ।

त्यसपछि खेलको ७४औं र अन्तिमतिर इन्जुरी समयमा लगातार दुई गोल गर्दै काभानीले म्यानचेष्टरको जितमा नायकीय भूमिका खेले र टोलीलाई महत्वपूर्ण तीन अंक समेत दिलाउन सफल भए ।

यो जितपछि ९ खेलबाट १६ अंकका साथ म्यानचेष्टर सातौं स्थानमा छ । र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा पाँच अंकले पछि छ । उता पराजित साउथह्याम्पटन भने १७ अंकका साथ पाँचौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...