जितको लयमा फर्कियो बार्सा (भिडियोसहित)

एजेन्सी । पछिल्लो पाँच मध्ये एक खेलमा मात्र जित निकालेको स्पेनिस जायन्ट बार्सिलोनाले ला लिगातर्फ आइतबार उत्कृष्ट जित हात पार्दै जितको लयमा फर्किएको संकेत देखाएको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले ओसासुना माथि ४–० को एकतर्फी जित निकाल्यो । बार्साको जितमा खेलको २९औं मिनटमा मार्टिन ब्राथवेटले पहिलो गोल गरे ।

४२औं मिनटमा एन्टोइन ग्रीजम्यानले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफ लगतै ५७औं मिनटमा फिलिपे कुटिन्होले क्याटलन जायन्टको त्यो अग्रता तेब्बर पारे ।

खेलमा एकतर्फी जित निकालेको बार्सिलोनाका लागि ७३औं मिनटमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले चौथो गोल गर्दै टोलीको शानदार जित पक्का गरे । मेसीले गोल गरेपछि बुधबार मात्र निधन भएका अर्जेन्टिी लिजेण्ड डिएगो म्याराडोनाप्रति सम्मान समेत प्रकट गरे ।

यो जितपछि ९ खेलबाट १४ अंक जोडेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । र, शिर्ष स्थानमा रहेको रियल सोसिडाड भन्दा अझै ९ अंकले पछाडी छ । उता पराजित ओसासुना भने ११ अंकका साथ १५औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...