हजार्ड घाइते, रियलको टाउको दुखाई

एजेन्सी । रियल मेड्रिडका बेल्जियन विंगर तथा आक्रमक मिडफिल्डर इडन हजार्ड फेरि घाइते भएका छन् । शनिबार स्पेनिस ला लिगातर्फ अलावेज विरुद्धको खेलका क्रममा उनी घाइते भएका हुन् ।

सो खेलमा रियल २–१ ले पराजित हुन पुगेको थियो । टोलीको पहिलो रोजाई मै उत्रिएका २९ बर्षिय हजार्डले केवल २८ मिनट मात्र खेल्न सके । त्यसपछि उनको स्थानमा रोड्रिगो मैदानमा प्रवेश गरेका थिए ।

क्लबका अनुसार हजार्डको चोट सामान्य भएको बताइएको छ । यद्यपि यसबारे विस्तृत रुपमा केही खुलाइएको छैन । स्मरण रहोस, गत बर्ष रियलमा आवद्ध भए यता हजार्डले कुल ३६ खेलहरु गुमाइसकेका छन् ।

हजार्डले यस सिजनको शुरुवात पनि मांशपेशीको समस्याका कारण गुमाउन पुगेका थिए । त्यसपछि केवल ३ म्याच खेल्न भ्याएका हजार्ड नोभेम्बरमा फेरि कोरोना भाइरसको संक्रमणमा परेका थिए ।

त्यसयता २१ नोभेम्बरमा उनी भिल्ला रियल विरुद्ध उत्रिन सफल भए भने गत बुधबार च्याम्पियन्स लिगतर्फ इन्टर मिलान विरुद्धको खेलमा रियलले जित निकाल्दा हजार्डले पेनाल्टीबाट एक गोल गर्न समेत भ्याएका थिए ।

उता रियलका म्यानेजर जिनेदिन जिदानले पनि हजार्डको चोट सामान्य रहेको प्रतिक्रिया दिएका छन् । साथै शनिबारको चोट मांशपेशीसँग कुनै सम्बन्ध रहेको बताउँदै उनले हजार्ड छिटै मैदानमा फर्किने विश्वास समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...