सिटीका लागि महरेजको डेब्यु ह्याट्रिक (भिडियोसहित)

एजेन्सी । दुई बर्ष अघि लेस्टर सिटीबाट म्यानचेष्टर सिटीमा आवद्ध भएका अल्जेरियन स्टार रियाद महरेजले शनिबार सिटीका लागि पहिलो ह्याट्रिक गरेका छन् ।

इतिहाद स्टेडियममा सम्पन्न खेलमा सिटीले बर्नलीलाई ५–० को फराकिलो अन्तरले हराउँदा २९ बर्षिय महरेजले ह्याट्रिक पूरा गरे । महरेजले सिटीका लागि खेलको छैटौं मिनट मै खाता खोलेका थिए । लगतै २२औं मिनटमा त्यो अग्रता दोब्बर पारे ।

पहिलो हाफ कै ४१औं मिनटमा बेन्जामिन मेन्डीले सिटीको अग्रता ३–० मा पुराए । सिटीका लागि मेन्डीको त्यो डेब्यु गोल समेत थियो । पहिलो हाफसम्म तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

खेलमा एकतर्फी जित निकालेको सिटीका लागि ६६औं मिनटमा फेरान टोरेसले चौथो गोल गरे । त्यसको तीन मिनट लगतै महरेजले टोलीका लागि पाँचौं तथा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक समेत पूरा गरे ।

यो शानदार जितपछि ९ खेलबाट १५ अंक जोडेको सिटी लिगतालिकाको आठौं स्थानमा उक्लिएको छ । उता पराजित बर्नली भने ५ अंकका साथ रेलिगेशन क्षेत्रको १८औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...