म्याराडोना समर्थक र पुलिसबीच झडप

एजेन्सी । अर्जेन्टिनी फुटबल लिजेण्ड डिएगो म्याराडोनाको अन्त्येष्टीका क्रममा उनका समर्थकहरु र पुलिसबीच झडप भएको छ । आफ्ना स्टार फुटबलरको निधनले मर्माहत बनेका हजारौं फुटबल समर्थक अहिले अर्जेन्टिनाको ब्युनस आयर्समा शोकाकुल छन् र सडक मै शोक व्यक्त गरिरहेका छन् ।

स्मरण रहोस, यसै महिनाको शुरुवातमा मस्तिष्कको शल्यक्रिया गरेका म्याराडोनाको बुधबार मात्र हृदयघातका कारण ६० बर्षको उमेरमा निधन भएको थियो । यद्यपि उनको शवलाई राष्ट्रिय सम्मानका लागि उनकै गृहनगर ब्युनस आयर्समा तीन दिन राखिने बताइएको छ ।

म्याराडोनाको पार्थिव शरीरलाई अर्जेन्टिनाको राष्ट्रिय झण्डा र १० नम्बर जर्सीले ढाकिएको छ । रिपोर्टअनुसार उनलाई अन्तिम श्रद्धाञ्जली दिन पहिला उनको परिवार, नजिकको आफन्त र पूर्व खेलाडी साथीहरुलाई अनुमति दिइएको बताइएको छ ।

यसै क्रममा समर्थकहरुको भिड पनि अनियन्त्रित भएपछि स्थानीय पुलिसले अश्रु ग्यास र पानीको फोहरा फ्याँकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यति मात्र नभएर सोही झडपमा समर्थकहरुले पानीको बोतलहरु प्रहार गरेको बुझिएको छ । त्यसक्रममा गम्भिर मानवनीय क्षति नभए तापनि समर्थक र पुलिसबीच झडप भएको कुरा भने पुष्टी भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...