एजेन्सी । स्पेनिस जायन्ट बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउको नाम परिवर्तन गरेर क्लबका लिजेण्डरी फुटबलर लियोनल मेसीको नाममा राखिए बार्साका फुटबल समर्थकहरुलाई कस्तो लाग्ला ?
भलै यसबारे समर्थकहरुको धारणा नआए तापनि क्लबका भावी अध्यक्ष पदका प्रत्याशी इमिली रुसाउदले भने आफू अध्यक्ष पदमा चुनिए क्याम्प नोउको नाम परिवर्तन गरेर मेसीको सम्मानमा नयाँ नाम राखिने वचन दिएका छन् ।
दबाबका बीच तत्कालिन अध्यक्ष जोसेप मारिया बर्टमेयुले अध्यक्ष पद छाडेपछि बार्सिलोना अहिले अध्यक्ष विहीन छ । र, कार्लेस टुस्केट्सले अन्तरिम अध्यक्षका रुपमा कार्यभार सम्हालिरहेका छन् ।
साथै क्लबको अध्यक्ष पदका लागि आगामी बर्ष (२०२१) को जनवरी मै मतदान हुँदैछ । सोही अध्यक्ष पदको प्रत्याशी मध्ये एक रुसाउदको नाम अहिले चर्चामा छ ।
उनले क्लबको नाम परिवर्तन गर्ने मात्र नभएर क्लब कै पूर्व ब्राजिलियन स्टार नेमारलाई पनि फेरि अनुवन्ध गर्ने बचन दिएका छन् । त्यति मात्र नभएर उनले थप एक नाम नखुलाइएका सुपरस्टार खेलाडीलाई अनुवन्ध गर्ने पनि बताएका छन् ।
‘Camp Nou – Leo Messi’ 🏟😍
Barcelona’s iconic stadium could be set for a change of name if one of the club’s presidential hopefuls gets his way https://t.co/dwT3B5aNs4
— Mirror Football (@MirrorFootball) November 26, 2020
स्मरण रहोस, यस सिजन बार्सिलोना ला लिगातर्फ निकै खराब लयमा छ । लिग तालिकाको १३औं स्थानमा रहेको क्याटलन जायन्ट लिगलिडर रियल सोसिडाड भन्दा १२ अंकले पछाडी छ । बार्साले लिगको शुरुवाती आठ मध्ये तीन खेलहरुमा हार बेहोरेको थियो ।
उता क्लबका नयाँ म्यानेजर रोनाल्ड कोयमान पनि क्लबलाई अझै लयमा फर्काउन प्रयासरत छन् । क्लबका स्टार खेलाडी मेसीले अझै आफ्नो नयाँ सम्झौता नवीकरण गरेका छैनन् ।
कतिपय सञ्चारमाध्यमहरुका अनुसार मेसीले आगामी समर स्थानान्तरणमा क्लब छाड्न सक्ने अडकलबाजी समेत गरिरहेका छन् । तर पनि क्लबको अध्यक्ष पदका नयाँ प्रत्याशी रुसाउद भने मेसीलाई क्लब मै राख्न नयाँ आइडिया अहिलेबाटै रच्न शुरु गरिसकेका छन् ।