एजेन्सी । इङलिस क्लब म्यानचेष्टर सिटी साँघुरो जितका साथ च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राती समूह सी तर्फ सिटीले ओलम्पियाकोसलाई उसकै घरमा १–० ले हराउँदै नकआउट चरणको यात्रा तय गर्यो ।
नकआउट चरणमा प्रवेश गर्ने सिटीलाई केवल एक अंकको खाँचो थियो । खेलको ३६औं मिनटमा रहिम स्टर्लिङको पासमा फिलिप फोडेनले एक मात्र निर्णायक गोल गरे ।
यो नतिजापछि ४ खेलबाट १२ अंक जोडेको सिटी शिर्ष स्थानमा छ र नकआउट चरणका लागि छनौट भएको छ । त्यस्तै बुधबार राती नै मार्सेलीलाई २–० ले हराएको एफसी पोर्टो ९ अंकका साथ दोस्रो स्थानमा छ ।
पोर्टो पनि नकआउट चरण नजिक पुगेको छ । त्यस्तै ३ अंक जोडेको ओलम्पियाकोस तेस्रो स्थानमा छ भने अंकविहीन मार्सेली पुछारमा रहेको छ ।