डिफेन्डिङ च्याम्पियन बायर्न नकआउट चरणमा

एजेन्सी । पोलिस स्टार रोबर्ट लेवान्डोस्कीले करियरको ७१औं च्याम्पियन्स लिग गोल गरेको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले उत्कृष्ट जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान अलियान्ज एरिनामा भएको खेलमा बायर्नले दश खेलाडीमा सिमित भएर पनि अष्ट्रियन क्लब रेडबुल साल्जबर्गलाई ३–१ ले हरायो । खेलको ४२औं मिनटमा लेवान्डोस्कीको गोलबाट बायर्नले खेलमा गोलको खाता खोलेको थियो ।

पहिलो हाफसम्म १–० कै अग्रता कायम राखेको बायर्नले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । दोस्रो गोल ५२औं मिनटमा किंग्सले कोमनले गरे । उता ६६औं मिनटमा रोकाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि बायर्न दश खेलाडीमा खुम्चिएको थियो ।

तर पनि त्यसको दुई मिनट लगतै लेरोए सानेले बायर्नका लागि तेस्रो गोल गर्दै टोलीको प्रभावशाली जित पक्का गरे । उता पराजित साल्जबर्गका लागि ७३औं मिनटमा मेर्जिम बेरिशाले एक मात्र सान्त्वना गोल फर्काए तापनि टोलीको हार भने टार्न सकेनन् ।

यो नतिजापछि ४ खेलबाट १२ अंक जोडेको बायर्न शिर्ष स्थानमा छ र नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राती नै लोकोमोटिव मस्कोसँग गोलरहित बराबरी खेलेको एटलेटिको मेड्रिड भने ५ अंकका साथ समूह ए तर्फ बायर्न पछि दोस्रो स्थानमा छ ।

तीन अंकका साथ मस्को तेस्रो स्थानमा छ भने १ अंक जोडेको साल्जबर्ग पुछारमा छ । यद्यपि एटलेटिकोसँगै मस्को र साल्जबर्गको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना भने कायम नै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...