डर्टमुण्डको जितमा हालण्डको किर्तिमानी गोल

एजेन्सी । च्याम्पियन्स लिगतर्फ नर्वेजियन स्टार स्ट्राइकर इर्लिङ हालण्डले दुई गोल गरेको खेलमा बोरुसिया डर्टमुण्डले क्लब ब्रुगेसमाथि ३–० को जित निकालेको छ । साथै यो जितसँगै डर्टमुण्डले नकआउट चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ ।

ब्रुगेसको घरेलु मैदानमा भएको खेलमा हालण्डले १८औं मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४५औं मिनटमा जेडन सान्चोले डर्टमुण्डको त्यो अग्रता दोब्बर पारे ।

त्यस्तै दोस्रो हाफको ६०औं मिनटमा हालण्डले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दे जर्मन क्लबको सहज जित पक्का गरे । यो गोलसँगै हालण्ड च्याम्पियन्स लिगमा सर्वाधिक छिटो १५ गोल गर्ने खेलाडी समेत बने ।

डर्टमुण्डलाई अब नकआउट चरणमा प्रवेश गर्ने बाँकी रहेका दुई खेलहरुबाट १ अंक बटुले प्रर्याप्त बन्नेछ । समूह एफ मा डर्टमुण्डले ४ खेलबाट ९ अंक जोडेको छ र शिर्ष स्थानमा छ ।

मंगलबार नै जेनिथ सेन्ट पिटसबर्गलाई ३–१ ले हराएको लाजियो ८ अंकका साथ दोस्रो स्थानमा छ । त्यसैगरी चार अंकका साथ क्लब ब्रुगेस तेस्रो स्थानमा छ भने एक अंक जोडेको जेनिथ सेन्ट पिटसबर्ग पुछारमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...