संघर्षपुर्ण जितका साथ चेल्सी नकआउट चरणमा

एजेन्सी । च्याम्पियन्स लिगतर्फ समूह ई मा रहेको इङलिस क्लब चेल्सीले मंगलबार राती संघर्षपुर्ण जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ । फ्रेन्च क्लब रेनेस विरुद्ध २–१ को जित निकालेको चेल्सी समूह चरणतर्फ अहिलेसम्म अपराजित समेत छ ।

रेनेसको घरेलु मैदानमा भएको खेलमा केलम हडसन–ओडोईको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । त्यो गोलका लागि मेसन माउण्टले अवसर मिलाइदिएका थिए ।

पहिलो हाफसम्म चेल्सीले आफ्नो दबाब कायम राखेको थियो । दोस्रो हाफको अन्तिम दश मिनट भने नाटकीय बन्न पुग्यो । खेलको ८५औं मिनटमा सेरहु गईरेसीले रेनेसका लागि बराबरी गोल फर्काए ।

तर घरेलु टोलीको त्यो बराबरी गोलको खुशी धेरैबेर टिकेन । उता वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका ओलिभर जिरुडले चेल्सीका लागि इन्जुरी समयमा हेडमार्फत गोल गर्दै ब्लुजलाई कठिन जित दिलाए ।

यो जितसँगै ४ खेलबाट १० अंक जोडेको चेल्सी गोल भिन्नताका आधारमा शिर्ष स्थानमा छ । समान १० अंक भए तापनि सेभिया दोस्रो स्थानमा छ । सेभियाले मंगलबार नै क्रसनोडरलाई २–१ ले हरायो ।

समूह ई बाट चेल्सीसँगै सेभिया पनि नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै १–१ अंक जोडेको क्रसनोडर र रेनेस क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...