अपराजित बार्सा नकआउट चरणमा (भिडियोसहित)

एजेन्सी । च्याम्पियन्स लिगमा अहिलेसम्म अपराजित रहेको बार्सिलोना मंगलबार राती शानदार जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ । किभमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली डाइनामो किभ विरुद्ध ४–० को एकतर्फी जित निकाल्यो ।

समूह जी मा रहेको बार्साले मंगलबारको खेलमा आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई आराम दिएको थियो । तर पनि क्याटलन जायन्टले खेलमा प्रभावशाली जितलाई आत्मसात गर्यो ।

यद्यपि खेलमा गोलहरु सबै दोस्रो हाफमा सम्भव भए । पहिलो गोल ५२औं मिनटमा सर्जिनो डेस्टले गरे । अधिकांश युवा खेलाडीलाई लिएर उत्रिएको बार्साका लागि ५७औं मिनटमा मार्टिन ब्राथवेटले दोस्रो गोल गरे ।

लगतै ७०औं मिनटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर पारे । त्यस्तै खेलको अन्तिमतिर इन्जुरी समयमा एन्टोइन ग्रीजम्यानले चौथो गोल गर्दै पाहुना टोलीको शानदार जित पक्का गरे ।

यो जितपछि ४ खेलबाट १२ अंक जोडेको अपराजित बार्सा शिर्ष स्थानमा छ । र नकआउट चरणका लागि छनौट भइसकेको छ । पराजित किभ भने १ अंकका साथ तेस्रो स्थानमा छ ।

समूह चरणको पाँचौं खेल बार्सिलोनाले डिसेम्बर २ तारीखका दिन फेरेन्कभरोससँग खेल्नेछ भने सोही दिन डाइनामो किभले युभेन्टसको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...