मोराटाको गोलसँगै युभेन्टस नकआउट चरणमा

एजेन्सी । अल्वारो मोराटाले खेल सकिन लागेको अन्तिम मिनटतिर निर्णायक गोल गरेपछि इटालियन च्याम्पियन युभेन्टस प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह जी तर्फ घरेलु मैदानमा भएको खेलमा युभेन्टसले हंगेरीयन क्लब फेरेन्कभरोसी विरुद्ध २–१ को कठिन जित निकाल्यो । यद्यपि खेलको १९औं मिनटमा पाहुना टोलीले मिर्टो उजुनीको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफ कै ३५औं मिनटमा पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए । रोनाल्डोको त्यो करियरको ७४९औं गोल समेत थियो । त्यसपछिको अधिकांश समय युभेन्टसले आफ्नो दबाब कायम राखे तापनि बललाई पोष्टको जाली चुमाउन सकेका थिएन ।

तर अन्तिमतिर मोरोटाले निर्णायक गोल गरेपछि युभेन्टसको दुई खेल अगावै नकआउट चरणमा प्रवेश गर्ने योजना पक्का बनेको थियो । यो जितसँगै ४ खेलबाट ९ अंक जोडेको युभेन्टस दोस्रो स्थानमा छ । फेरेन्कभरोसी भने १ अंकका साथ पुछारमा छ । शिर्ष स्थानमा छ १२ अंकका साथ बार्सिलोना रहेको छ । बार्सिलोनाले मंगलबार राती डाइनामो किभलाई ४–० ले हराउँदै नकआउट चरणमा स्थान बनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...