शताब्दी खेलाडी अवार्डमा २८ खेलाडी मनोनयन

एजेन्सी । कोभिड–१९ महामारीका कारण यस बर्ष हुने भनिएको प्रतिष्ठित बेलन डि’अर अवार्ड नहुने निश्चित भइसकेको छ । तर पनि फुटबलको एक विशेष अवार्ड भने यसै बर्ष हुने पक्का भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बर्ष शताब्दी खेलाडीको अवार्ड दिने घोषणा गरेको छ । उता फ्रान्स फुटबलले वार्षिक रुपमा दिंदै आएको बेलन डि’अर अवार्ड महामारी कै कारण यस बर्ष नदिने निश्चित गरियो ।

भलै धेरै जसो देशहरुले गत सिजनको लिग ढिलै भए पनि सफलताका साथ समापन गरे तापनि अवार्ड कार्यक्रम गर्न फ्रान्स फुटबल उत्साहित देखिएन ।

गत सिजन शानदार लयमा देखिएका बायर्न म्युनिखका पोलिस स्टार रोबर्ट लेवान्डोस्कीलाई बेलन डि’अर अवार्डको बलियो प्रत्याशी मानिएको थियो । तर, उनको यो अवार्ड जित्ने सपना त्यतिकै तुहियो ।

तर पनि उनी खुशी हुने कारण भने छ । किनकी फिफाले शताब्दी खेलाडीको अवार्ड दिनका लागि घोषणा गरेको २८ खेलाडीहरुको सूचीमा लेवान्डोस्कीको नाम पनि छ । तर धेरैले उनले यो अवार्ड जित्न कठिन रहेको अनुमान गरेका छन् ।

यो अवार्ड ग्लोब सकर अवार्डस कार्यक्रममा प्रदान गरिने बताइएको छ । शताब्दी अवार्डमा खेलाडी मात्र नभएर क्लब, प्रशिक्षक तथा एजेन्टलाई पनि यो शताब्दी अवार्डले सम्मान गरिने बताइएको छ ।

स्मरण रहोस, यो अवार्ड यसअघि सन् २००० डिसेम्बर ११ तारीखका दिन हुने अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोना र ब्राजिलियन लिजेण्ड पेलेले संयुक्त रुपमा जितेका थिए । म्याराडोनाले इन्टरनेट पोलका आधारमा यो अवार्ड जितेका थिए भने पेलेले फिफा अफिसियल, पत्रकार र प्रशिक्षकहरुको मतका आधारमा जितेका थिए ।

मनोनयनमा परेका २८ खेलाडीहरुः

आन्द्रे पिर्लो, आन्द्रेस इनिष्टा, आन्द्रे सेभचेन्को, आर्जेन रोबेन, क्रिष्टियानो रोनाल्डो, डेविड बेकह्याम, फाबियो कानाभारो, फ्रान्चेस्को टोटी, फ्रान्क लाम्पार्ड, जियानलुइगी बुफोन, इकर कासिलास, काका, काइलन एम्बाप्पे, लियोनल मेसी, लुईस फिगो, लुका मोड्रिक, म्यानुअल निउअर, मोहमद सलाह, नेमार जुनियर, फिलिप ल्हाम, रोबर्ट लेवान्डोस्की, रोनाल्डिन्हो, रोनाल्डो, सर्जियो रेमोस, स्टिभन जेरार्ड, जाभी, जिनेदिन जिदान, ज्लाटन इब्राहिमोभिच ।

 


प्रतिक्रिया दिनुहोस

Loading...