युरोपको च्याम्पियन बायर्न, इतिहास बनाउन चुकेको पिएसजी

एजेन्सी । प्रतिस्पर्धात्मक जितका साथ बायर्न म्युनिख सिजन २०१९–२० को च्याम्पियन्स लिग उपाधि जित्न सफल भएको छ । लिस्बोनमा सम्पन्न कडा प्रतिस्र्धात्मक फाइनलमा बायर्नले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० ले हरायो ।

क्लब इतिहास मै पहिलोपटक फाइनल पुगेको पिएसजीले च्याम्पियन्स लिगमाथि ऐतिहासिक उपलब्धी हात पार्ने संघारमा थियो । जुन तत्कालका लागि खेर गएको छ । पिएसजीका दुई स्टार नेमार र काइलन एम्बाप्पेले खेलमा पाएको केही राम्रो अवसरलाई सदुपयोग गर्नु नसक्नु फ्रेन्च च्याम्पियनका लागि दुर्भाग्यपुर्ण रह्यो ।

उता बायर्नको जितमा पिएसजी कै लागि खेल्दै करियर शुरु गरेको किंग्स्ले कोमनले एक मात्र निर्णायक गोल गरे । कोमनले ५९औं मिनटमा जोशुवा किमिचको क्रस पासमा हेडद्वारा एक मात्र निर्णायक गोल गर्दै बायर्नलाई छैटौंपटक युरोपको च्याम्पियन बनाउन सफल भए ।

यो उपाधिसँगै सर्वाधिक च्याम्पियन्स लिग जित्ने क्लबको सूचीमा बायर्न तेस्रो स्थानमा पुगेको छ । यो सूचीको शिर्ष स्थानमा रियल मेड्रिड छ । रियलले कुल १३ पटक यो उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा इटालियन महारथी एसी मिलान छ । मिलानले समग्रमा कुल ७ पटक यो उपाधि जितेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...