एजेन्सी । स्पेनिस क्लब सेभियाले युरोपा लिगको इतिहासमा सर्वाधिक सफलतम क्लब बन्दै किर्तिमानी छैटौं पटक प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
शुक्रबार राती भएको फाइनल भिडन्तमा सेभियाले दावेदार मानिएको इन्टर मिलानलाई ३–२ ले हराउँदै किर्तिमानी सफलता हासिल गर्न सफल भएको हो ।
जर्मनको कोलोग्ने शहरमा भएको फाइनल खेलमा सेभियाले दुईपटक पछि परेको स्थिति उल्टाउँदै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । समग्रमा सेभियाले नाटकीय जित हात पारेको थियो ।
डिएगो कार्लोसले रोमेलु लुकाकुलाई बक्स भित्र फल गर्दा इन्टरले शुरुवात मै पेनाल्टीको अवसर पाएको थियो । जसलाई पाँचौं मिनटमै लुकाकुले नै गोलमा परिणत गरेका थिए ।
त्यसपछि नाटकीय रुपमा खेलमा पूनरागमन गरेको सेभियाका लागि १२ र ३३औं मिनटमा लुक डि जोंगले लगातार दुई गोल गर्दै इन्टर विरुद्ध सेभियालाई २–१ को स्थितिमा पुर्याए ।
यद्यपि सेभियाले त्यो अग्रताको खुशी पनि धेरैबेर मनाउन सकेन । ३५औं मिनटमा डिएगो गोडिनले गोल गर्दा इन्टर फेरि खेलमा फर्किएको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफ २–२ कै बराबरी सकियो ।
उता दोस्रो हाफको ७४औं मिनटमा लुकाकुले नै आत्मघाती गोल गर्न पुग्दा इन्टरको उपाधि जित्ने सपना तुहिन पुगेको थियो । लुकाकुको त्यो आत्मघाती गोल खेलको निर्णायक बन्यो ।
स्मरण रहोस, सेभियाले सिजन २०१३–१४, २०१४–१५ र २०१५–१६ मा लगातार तीन उपाधि जित्दै युरोपा लिगमाथि ह्याट्रिक समेत जमाएको थियो ।