एजेन्सी । ब्राजिलियन स्टार नेमारले प्रतिष्ठित युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्ने अवसर अनुुशासनको कारवाहीका कारण गुमाउन सक्ने सम्भावना बढेर गएको छ ।
मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलतर्फ पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरबी लिपजिगलाई ३–० ले हराउँदै क्लब इतिहास मै पहिलोपटक फाइनल प्रवेश गर्न सफल भएको थियो ।
यद्यपि खेल पश्चात् नेमारले आरबी लिपजिगका एक खेलाडीसँग आफ्नो जर्सी साटेपछि उनी अनुशासनको कारवाहीमा पर्ने सम्भावना बढेको हो ।
हाल विश्वव्यापी महामारकिा रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण कुनै पनि खेलमा दुई टोलीका खेलाडीहरुले जर्सी साटासाट गर्न नपाउने नियम थियो । तर नेमारले त्यो नियम बिर्सिएर हो वा जानाजान हो तोड्न पुगेका छन् ।
Surely not? 😳
— Goal News (@GoalNews) August 19, 2020
फुटबलमा यो एउटा सामान्य कुरा भए तापनि युइएफएले अहिले कोभिड–१९ त्रासकै कारण तत्कालका लागि त्यसो नगर्न सबै क्लबलाई यसअघि नै जानकारी गराइसकेको थियो ।
युइएफएले गत महिना मात्र च्याम्पियन्स लिग र युरोपा लिग सफलताका साथ सम्पन्न गर्न कडा नियम बनाएको थियो । जसको उद्देश्य नै कोभिड–१९ को संक्रमण नफैलियोस भन्ने नै थियो ।
च्याम्पियन्स लिगको फाइनल खेल यहि अगस्त २३ तारीख अर्थात आउँदो आइतबारका दिन लिस्बोनमा हुँदैछ । पिएसजीले फाइनलमा आज राती हुने दोस्रो सेमिफाइनलतर्फ बायर्न म्युनिख र लियोनबीचको विजेतासँग खेल्नेछ ।