रोनाल्ड बने बार्सिलोनाका नयाँ प्रशिक्षक

एजेन्सी । पूर्व म्यानेजर क्विके सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि नै स्पेनिस जायन्ट बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोयमनलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ ।

स्मरण रहोस, ५७ बर्षिय कोयमनले बार्सिलोनाको प्रशिक्षकीय जिम्मेवारी सम्हाल्न कै लागि आफ्नो नेदरल्याण्डसको प्रशिक्षकीय जिम्मेवारी त्यागेका छन् । डच टोलीसँग कोयमनको अझै दुई बर्षको सम्झौता थियो ।

रिपोर्टअनुसार कोयमनले बार्सिलोनासँग दुई बर्षका लागि सम्झौता गरेका छन् । सन् १९८९ देखि १९९५ सम्म बार्सिलोना कै लागि व्यवसायीक फुटबल समेत खेलेका कोयमनले क्याटलन क्लबलाई चार लिग उपाधि र एक युरोपियन कप पनि जिताएका थिए ।

कोयमनमाथि अब थप ठूलो जिम्मेवारी थपिएको फुटबल विश्लेषकहरु बताउँछन् । बार्सिलोनाले २०१९–२० को सिजन दोस्रो स्थानमा रहेर समापन गर्यो । लिग विजेता रियल मेड्रिड भन्दा पाँच अंकले पछि परेको बार्सिलोनाले सन् २००७–०८ पछि पहिलोपटक कुनै ट्रफी जित्नबाट असफल भयो ।

त्यति मात्र नभएर च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँगको ८–२ को हारले पनि बार्सिलोनाको प्रदर्शन र वर्तमान स्तरमाथि आलोचना र प्रश्नहरु समेत उठ्न थालेका थिए ।

कोयमनका लागि अब क्याम्प नोउमा नयाँ सिजन नयाँ चुनौति हुनेछ । जसलाई उनले कसरी सामना गर्नेछन् त्यो भने सिजनको शुरुवात भएपछि नै थाहा हुनेछ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...