लिभरपुलको स्क्वाडमा देखियो कोभिड–१९ पोजिटिभ

एजेन्सी । प्रिमियर लिग उपाधि जोगाउने अभियानका साथ हाल प्रि–सिजन क्याम्पका लागि अष्ट्रियामा रहेको इङलिस च्याम्पियन लिभरपुलको स्क्वाड सदस्यमा कोभिड–१९ पोजिटिभ पाइएको छ ।

रिपोर्टअनुसार नाम नखुलाइएको सदस्यलाई कोरोना भाइरसको संक्रमण देखिए तापनि क्लबले आफ्नो अभ्यास क्याम्पलाई भने निरन्तरता दिने बताएको छ ।

अष्ट्रियाको साल्जबर्गमा अभ्यास गरिरहेको लिभरपुलले इङल्याण्ड छाड्नु अघि आफ्नो सबै सदस्यहरुको कोभिड–१९ परिक्षण गराएको थियो ।

स्रोतका अनुसार लिभरपुल स्क्वाडलाई भिडभाडबाट टाढा राखिएको छ र दुई–तीन दिनको अन्तरालमा कोभिड–१९ परिक्षण समेत गरिएको छ ।

कोरोनाको संक्रमण भएका सदस्यहरुको फेरि परिक्षण गरिने र उनीहरुलाई एक साता आइसोलेसनमा राखिने बताइएको छ । यद्यपि नेगेटिभ पाइएका सदस्य तथा खेलाडीहरुलाई अभ्यासमा सामेल गराउने पनि स्रोतले जनाएको छ ।

स्मरण रहोस, इङलिस प्रिमियर लिगको सिजन २०२०–२१ आउँदो सेप्टेम्बर १२ तारीखदेखि शुरु हुँदैछ । त्यसअघि लिभरपुलले वेम्बली स्टेडियममा २९ अगस्तका दिन आर्सनलसँग कम्युनिटी शिल्डका लागि भिड्नेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...