सोनले जिते ‘गोल अफ द सिजन’ अवार्ड

एजेन्सी । टोटेनह्याम हटसपरका दक्षिण कोरियाली स्टार ह्युङ–मिन सोनले सिजन २०१९–२० को गोल अफ द सिजन अवार्ड जित्न सफल भएका छन् ।

बर्नली विरुद्ध उनले गरेको दर्शनीय सोलो गोलले उनलाई यो अवार्डको बलियो दावेदार बनाएको थियो । बर्नली विरुद्धको त्यो खेलमा सोनले एक्लै आफ्नै पोष्टको बक्स नजिकैबाट बल अगाडी बढाउँदै उनले ८० मिटर अगाडी लगेर विपक्षीको गोलपोष्टमा सुन्दर गोल गरेका थिए ।

त्यतिबेला टोटेनह्याम बर्नली विरुद्ध २–० ले अगाडी थियो । पहिलो हाफमा भएको त्यो गोलसँगै लण्डन क्लबले ३–० को अग्रता बनाएको थियो । यद्यपि त्यो खेलमा टोटेनह्यामले ५–० को प्रभावशाली जित निकाल्न सफल भएको थियो ।

सोनको त्यो गोलले त्यतिबेला निकै चर्चा पाएको थियो । टोटेनह्यामका प्रशिक्षक जोसे मौरिन्हो पनि निकै प्रभावित भएका थिए । मौरिन्होले त्यतिबेला आफ्नो छोराले सोनलाई सोनाल्डो भन्ने गरेको कुरा पनि चर्चा गरेका थिए ।

सोनले गत २०१९–२० सिजनमा ४१ म्याच खेल्दै कुल १८ गोल गरे । टोटेनह्यामले लिगतालिकामा छैटौं स्थानमा रहेर सिजनको समापन गर्यो र आगामी सिजन युरोपा लिगका लागि छनौट हुन पनि सफल भयो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...