एटलेटिको नकआउट, सेमिफाइनलमा पिएसजीको प्रतिद्वन्द्वी तय

एजेन्सी । सिजन २०१९–२० मा मिश्रित प्रदर्शन गरिरहेको स्पेनिस क्लब एटलेटिको मेड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै नकआउट भएको छ ।

बिहीबार राती जर्मन प्रतिद्वन्द्वी आरबी लिपजिगसँग २–१ ले पराजित हुँदा एटलेटिकोको सेमिफाइनल पुग्ने सपना समाप्त भएको हो । लिस्वोनमा भएको खेलमा दुवै तर्फबाट तीनै गोल दोस्रो हाफमा सम्पन्न भए ।

खेलको ५०औं मिनटमा डेनिल ओल्मोको गोलबाट लिपजिगले खेलमा अग्रता बनाएको थियो । यद्यपि दोस्रो हाफमै जोआओ फेलिक्सलाई विपक्षी खेलाडीलेबक्स भित्र फल गर्दा एटलेटिकोले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई फेलिक्सले नै ७१औं मिनटमा गोलमा परिणत गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याए । तर पछिल्लो ६ बर्षमा तेस्रो फाइनल खेल्ने सपना बुनेको एटलेटिको यात्रा खेलको अन्तिमतिर समाप्त हुन पुग्यो । ८८औं मिनटमा लिपजिगका लागि टाइलर एडम्सले निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

लिपजिगले सेमिफाइनलमा अब १८ अगस्तका दिन दावेदार मानिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्ने पक्का भएको छ । पिएसजीले बुधबार राती मात्र एटलान्टालाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...