सुखद खबरको पर्खाईमा पिएसजी

एजेन्सी । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले आफ्ना स्टार फरवार्ड काइलन एम्बाप्पे च्याम्पियन्स लिगका लागि फिट हुन कुनै जादुको खाँचो परेको प्रतिक्रिया दिएका छन् ।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पिएसजीले यस सिजन इटालियन सिरि ए मा सनसनी मच्याईरहेको एटलान्टाको सामना गर्दैछ । यद्यपि पिएसजीको मुख्य समस्या भनेको २१ बर्षिय एम्बाप्पे चोटिल छन् ।

गत शुक्रबार फ्रेन्च कपको फाइनलमा सेन्ट इटिनी विरुद्ध खेल्ने क्रममा एम्बाप्पे चोटिल बनेका थिए । उनको एंकल इन्जुरीका कारण उनी तीन साता लामो मैदान बाहिर रहने पुष्टी भइसकेको छ ।

च्याम्पियन्स लिगतर्फ पिएसजीले १२ अगस्तका दिन एटलान्टासँग खेल्दैछ । तर त्यो खेलका लागि क्लबको मुख्य हतियार मध्ये मानिएका एम्बाप्पे नखेल्ने लगभग निश्चित छ । जुन कुरा क्लबका प्रशिक्षक टुचेलले पनि स्वीकारेका छन् ।

टुचेल भन्छन्, “एम्बाप्पेको अनुपस्थितिले हामीलाई पक्कै पनि केही असर पर्नेछ । तर यो समस्याको अर्को विकल्प पनि हामीले पाउनेमा विश्वस्त छौं ।”

पिएसजीको अग्रपंक्तिमा एम्बाप्पे बाहेक ब्राजिलियन स्टार नेमार पनि छन् । उता टुचेलले यदि एम्बाप्पे टोलीका लागि अनुपस्थिति रहे उनको विकल्पमा माउरो इकार्डी रहेको पनि बताएका छन् ।

पिएसजीमा आवद्ध भए यता समग्रमा कुल २० गोल गरेका अर्जेन्टिनी स्टार इकार्डीको भूमिकालाई लिएर पनि टुचेल केही आश्वस्त पनि छन् । इकार्डीले फ्रेन्च लिग कपको फाइनलमा लियोन विरुद्ध पनि खेल्न सक्ने सम्भावना बलियो रहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस

Loading...