इगालोद्वारा ९५ बर्ष पुरानो किर्तिमानको बराबरी

एजेन्सी । म्यानचेष्टर युनाइटेडका नाइजेरियन स्ट्राइकर ओडिओन इगालोले क्लबको ९५ बर्ष पुरानो दुर्लभ किर्तिमानको बराबरी गरेका छन् । एफए कपको क्वाटरफाइनलतर्फ शनिबार म्यानचेष्टरले नर्विच सिटीलाई २–१ ले हराउँदा इगालोले पनि एक गोल गरेका थिए ।

त्यो गोलसँगै इगालोले क्लबका लागि सन् १९२५ मा बनेको दुर्लभ किर्तिमानको बराबरी समेत गरे । रिपोर्टअनुसार नर्विच विरुद्धको त्यो गोलसँगै इगालोले म्यानचेष्टर युनाइटेडका लागि क्लब इतिहासमा आफूले खेलेको पहिलो चार फरक प्रतिस्पर्धी विरुद्ध गोल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

गोल डटकमका अनुसार इगालो अघि यो किर्तिमान रेड डेविल्सका लागि सन् १९२५ मा जिमी हान्सनले बनाएका थिए । त्यतिबेला हान्सनले हल सिटी, ब्ल्याकपुल, डर्बी काउन्टी र एस्टन भिल्ला विरुद्ध गोल गर्दै यो दुर्लभ किर्तिमान बनाएका थिए ।

यसअघि सन् २०१६ मा रेड डेविल्सका लागि यो खेलेको स्वीडीस स्टार ज्लाटन इब्राहिमोभिचले पनि हान्सनको किर्तिमान बराबरी गर्ने संघारमा थिए । यद्यपि उनी त्यतिबेला तीन खेलबाटै चुकेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...