बुण्डेसलिगा फर्कियो, डर्टमुण्डको शानदार जित

एजेन्सी । कोरोना भाइरसका कारण पहिलोपटक फर्किएको बुण्डेसलिगातर्फ शनिबार भएको खेलमा बोरुसिया डर्टमुण्डले साल्केमाथि ४–० को प्रभावशाली जित हात पारेको छ ।

कोभिड–१९ महामारी चलिरहेकै बेला पहिलोपटक शिर्ष फुटबल लिग आयोजना गर्ने युरोपियन राष्ट्र बनेको जर्मनीले दर्शकविहीन रंगशालामा खेलाउने अनुमति दिएको थियो ।

इडुना पार्कमा भएको खेलमा डर्टमुण्डका लागि २९औं मिनटमा युवा स्टार इर्लिङ हालण्डले पहिलो गोल गरेका थिए । ब्रेक टाइम अघि राफेल गुइरेरोले डर्टमुण्डको अग्रता दोब्बर पारे ।

खेलमा एकपक्षीय नतिजा निकालेको डर्टमुण्डका लागि ४८औं मिनटमा थोर्गन हजार्डले तेस्रो गोल गरे भने ६३औं मिनटमा राफेल गुइरेरोले नै चौथो गोल गर्दै टोलीको प्रभावशाली जित पक्का गरे ।

यो जितसँगै २६ खेलबाट ५४ अंक जोडेको डर्टमुण्ड दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बायर्न म्युनिख ५५ अंकका साथ शिर्ष स्थानमा छ भने उता पराजित साल्के ३७ अंकका साथ आठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...