घरमै लुटिए टोटेनह्याम स्टार अली

एजेन्सी । कोरोना भाइरसका कारण पूरै विश्व लकडाउनमा रहेका बेला इङल्याण्ड र टोटेनह्याम हटसपरका स्टार मिडफिल्डर डेले अली भने घरमै लुटिएका छन् ।

रिपोर्टअनुसार धारिलो हतियारसहित आएका दुई लुटेराले अलीको उत्तरी लण्डन स्थित घरमा लुटपाट गरेका हुन् । उक्त समयमा २४ बर्षे अलीसहित उनका भाईको प्रेमिका तथा अन्य साथीहरु पनि थिए ।

रिपोर्टअनुसार लुटेराहरुले घरमा तोडफोड समेत गरेका थिए । सो क्रममा अली र उनका भाइलाई सामान्य चोट लागेको बताइएको छ । लुटपाटबारे अलीले ट्वीट समेत गरेका छन् ।

ट्वीट गर्दै उनले लेखेका छन्, “यो निकै डरलाग्दो अनुभव थियो । तर अहिले सबै ठिक छ । मलाई म्यासेज गरेर जिज्ञासा राख्नुहुने सबैमा धन्यवाद ।”

उता स्थानीय प्रहरीका अनुसार लुटेराहरुले नगद, गरगहना, महँगो घडी लगायतका जिन्सी सामानहरु लुटेर लगेका छन् । यद्यपि अहिलेसम्म कसैलाई पक्राउ नगरिएको र अपराधीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...