पिएसजीको उत्कृष्ट जितमा एम्बाप्पेको दुई गोल

एजेन्सी । फ्रेन्च लिग वानतर्फ लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार प्रभावशाली जित हात पारेको छ । घरेलु मैदान पर्सि डेस प्रिन्सेसमा भएको खेलमा पिएसजीले डिजोनमाथि ४–० को एकतर्फी जित निकाल्यो ।

खेल शुरु भएको तेस्रो मिनटमै पाब्लो सरबियाले मार्किन्होजको क्रस पासमा पिएसजीका लागि गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो हाफको ७४औं मिनटमा काइलन एम्बाप्पेले पिएसजीका लागि दोस्रो गोल गरे भने त्यसको दुई मिनट लगतै उनले माउरो इकार्डीका लागि तेस्रो गोलका लागि पास मिलाइदिएका थिए ।

त्यस्तै इन्जुरी समयको ९०+१औं मिनटमा एम्बाप्पेले नै पिएसजीका लागि चौथो गोल गर्दै घरेलु टोलीको सहज जित पक्का गरेका थिए ।

यो जितसँगै २७ खेलबाट ६८ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानमा रहेको मार्सेली भन्दा १३ अंकले अगाडी छ । उता पराजित डिजोन भने २७ अंकका साथ रेलिगेशन क्षेत्रभन्दा एक स्थानमाथि १७औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...