अपराजित रहने लिभरपुलको सपना समाप्त

एजेन्सी । इङलिस प्रिमियर लिगमा यस सिजन शानदार लयमा रहेको लिभरपुलले शनिबार राती स्तब्धपुर्ण हार बेहोरेको छ । यो हारसँगै यस सिजन प्रिमियर लिगमा अपराजित रहने लिभरपुलको सपना पनि समाप्त भएको छ ।

विकारेज रोडमा सम्पन्न खेलमा रेड्सले घरेलु टोली वाटफोर्डको हातबाट ०–३ को सनसनीपूर्ण हार बेहोर्यो । साथै यो हारसँगै लिभरपुलको ४४ खेलको अपराजित यात्रामा पनि पुर्णविराम लाग्यो ।

यसअघि प्रिमियर लिगमा १८ खेलमा जित हात पारेको लिभरपुलले शनिबार वाटफोर्डलाई हराएको भए इङल्याण्डको शिर्ष फुटबलमा सबैभन्दा धेरै जितको रेकर्ड राख्ने अवसर लिभरपुललाई थियो । तर यर्गन क्लपको टोली यसमा चुक्न पुग्यो ।

शनिबारको उक्त खेलमा तीनै गोल दोस्रो हाफमा भए । वाटफोर्डका लागि इस्माइला सारले ५४ र ६०औं मिनटमा लगातार दुई गोल गरे । त्यस्तै थप एक गोल भने ७२औं मिनटमा कप्तान ट्रोय डिनेले गरेका थिए ।

यो जितसँगै गत बर्षको जनवरीपछि लिभरपुललाई हराउने वाटफोर्ड पहिलो टोली बनेको छ । यसअघि त्यतिबेला लिभरपुलले म्यानचेष्टर सिटीसँग हार बेहोरेको थियो ।

शनिबारको नतिजापछि हारका बावजुद २८ खेलबाट ७९ अंकका साथ लिभरपुल शिर्ष स्थानमा यथावत छ । उता जित हात पारेको वाटफोर्ड भने २७ अंकका साथ रेलिगेशन क्षेत्रको एक स्थानमाथि १७औं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...