रोनाल्डोको १०००औं खेल र शानदार किर्तिमान

एजेन्सी । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो करियरको १०००औं खेल अविस्मरणीय र शानदार बनाएका छन् । इटालियन सिरि ए तर्फ शनिबार राती युभेन्ट्सले स्पाललाई उसकै घरमा २–१ ले हराउँदा रोनाल्डोले पनि गोल गरे ।

यद्यपि उनको गोल र त्यो खेल दुवै अविस्मरणीय बन्यो । १०००औं खेल खेलिरहेका रोनाल्डोले युभेन्ट्सका लागि ३९औं मिनटमा जुआन क्वाडराडोको क्रस पासमा पहिलो गोल गरेका थिए ।

यो गोलसँगै उनी सिरि ए मा लगातार ११औं म्याचसम्म गोल गर्ने खेलाडीको किर्तिमानको बराबरी गर्न समेत सफल भए । यसअघि यो किर्तिमान ग्याब्रियल बाटिस्टुटा र फाबियो काग्लिरेलाको नाममा मात्र थियो । यद्यपि ३५ बर्षे रोनाल्डोले यो किर्तिमान बराबरी गरे ।

देश र क्लबका लागि यस सिजन ३६ खेलमा ३६ गोल गरेका रोनाल्डोले आउँदो आइतबार इन्टर मिलानको सामना गर्दा सिरि ए को गोलस्कोरिङ किर्तिमान तोड्ने सम्भावना हुनेछ ।

त्यस्तै युभेन्ट्सका लागि दोस्रो गोल ६०औं मिनटमा आरोन राम्सेले गरे । उता पराजित स्पालका लागि आन्द्रे पेटग्नाले पेनाल्टीबाट एक मात्र गोल फर्काएका थिए ।

यो जितसँगै २५ खेलबाट ६० अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ र दोस्रो स्थानमा रहेको लाजियो भन्दा ४ अंकले अगाडी छ । यद्यपि लाजियोले एक खेल कम खेलेको छ । उता पराजित स्पाल भने १५ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा रहेर संघर्ष गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...