आठ गोलको रोमाञ्चमा रोकियो पिएसजी

एजेन्सी । फ्रेन्च लिग वानतर्फ डिफेन्डिङ च्याम्पियन तथा लिगलिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको छ । शनिबार राती भएको खेलमा पिएसजीले एमिन्ससँग ४–४ गोलको बराबरी खेल्यो ।

एमिन्सको घरेलु मैदानमा भएको खेलको पाँचौ मिनटमै सेरहु गिरेसीले घरेलु टोलीका लागि अप्रत्याशित रुपमा गोलको खाता खोलेका थिए । २९औं मिनटमा गेल काकुटाले एमिन्सको त्यो अग्रता दोब्बर पारे । पहिलो हाफमै हावी देखिएको एमिन्सका लागि फुसोनी डायबेटले ४०औं मिनटमा तेस्रो गोल गरे ।

यद्यपि पहिलो हाफको ४५औं मिनटमा एन्डर हरेराले पिएसजीका लागि पहिलो गोल फर्काए । पहिलो हाफसम्म ३–१ ले पछि परेको पिएसजीले दोस्रो हाफमा भने उत्कृष्ट पूनरागमन गर्यो । टांगाई कुसीले ६० र ६५औं मिनटमा लगातार दुई गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।

७४औं मिनटमा माउरो इकार्डीले चौथो गोल गर्दै पिएसजीको अग्रता ४–३ मा पुराए । त्यसपछि जित नजिक समेत पुगेको पिएसजीले गोल खान पुग्यो । एमिन्सका लागि अन्तिमतिर इन्जुरी समयमा गिरेसीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै खेललाई ४–४ को रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

यो नतिजापछि २५ खेलबाट ६२ अंक जोडेको पिएसजी शिर्ष स्थानमा यथावत छ । उता एमिन्स भने २१ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेशन क्षेत्रमा संघर्षरत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...