मिलान डर्बीमा इन्टरको उत्कृष्ट पूनरागमन, फेरि शिर्ष स्थानमा उक्लियो

एजेन्सी । शुरुवाती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इटालियन सिरि ए तर्फ मिलान डर्बीमा इन्टर मिलानले रोमाञ्चक जित हात पार्दै लिगतालिकाको शिर्ष स्थानमा फर्किएको छ ।

सान सिरोमा भएको खेलमा इन्टरले शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ४–२ ले हरायो । खेलमा शुरुवाती दुई गोलको अग्रता मिलानले लिएको थियो । ४०औं मिनटमा एन्टे रेबिकले गोल गर्दै एसी मिलानले खेलमा आता खोलेको थियो । लगतै पहिलो हाफकै इन्जुरी समयमा ज्लाटन इब्राहिमेभिचले मिलानका लागि दोस्रो गोल गरे ।

तर, मिलानले त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम राख्न सक्यो । खेलमा उत्कृष्ट पूनरागमन गरेको इन्टरका लागि ५१औं मिनटमा मार्सेलो ब्रोजोभिकले पहिलो गोल फर्काए । त्यसको दुई मिनट लगतै मेटियास भेसिनोले इन्टरका लागि दोस्रो बराबरी गोल फर्काए ।

७०औं मिनटमा स्टेफन डि भ्रिजले तेस्रो गोल गर्दा इन्जुरी समयको अन्तिमतिर रोमेलु लुकाुले चौथो गोल गर्दै इन्टर मिलानको रोमाञ्चक जित पक्का गरेका थिए ।

यो जितसँगै २३ खेलबाट ५४ अंक जोडेको इन्टर शिर्ष स्थानमा उक्लिएको छ । शनिबार मात्र हेलास भेरोनासँग अप्रत्याशित हार बेहोरेको डिफेन्डिङ च्याम्पियन युभेन्ट्सको पनि समान ५४ अंक छ, तर गोल भिन्नताका आधारमा पछि पर्दै दोस्रो स्थानमा खस्किएको छ ।

त्यसैगरी उता पराजित एसी मिलान भने ३२ अंकका साथ दशौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...