रियलको स्पष्ट अग्रता यथावत (भिडियोसहित)

एजेन्सी । स्पेनिस ला लिगातर्फ यस सिजन राम्रो लयमा देखिएको रियल मेड्रिडले लिगतालिकामा दोस्रो स्थानमा रहेको बार्सिलोनासँगको दुरी तीन अंकमा कायम राख्न सफल भएको छ ।

उत्कृष्ट जित निकालेको रियलले ओसासुनालाई उसकै घरमा ४–१ ले हरायो । यद्यपि १४औं मिनटमा उनाई गार्सियाको गोलबाट ओसासुनाले खेलमा अप्रत्याशित अग्रता लिएको थियो ।

तर ३३औं मिनटमा इस्कोले रियलका लागि बराबरी गोल फर्काए भने सर्जियो रेमोसले ३८औं मिनटमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाए । त्यस्तै गारेथ बेलको स्थानमा मैदान प्रवेश गरेका लुकास भाजकेजले ८४औं मिनटमा रियलका लागि तेस्रो गोल गरे ।

चोटपछि पहिलोपटक टिममा फर्किएका बेलले खासै प्रभाव जमाउन सकेनन् । उता इन्जुरी समयको ९२औं मिनटमा लुका जोविकले रियलका लागि चौथो गोल गर्दै पाहुना टोलीको शानदार जित पक्का गरे ।

यो जितसँगै २३ खेलबाट ५२ अंक जोडेको रियल शिर्ष स्थानमा यथावत छ । आइतबार नै रियल बेटिसलाई ३–२ ले हराएको डिफेन्डिङ च्याम्पियन बार्सिलोना ४९ अंकका साथ दोस्रो स्थानमा छ । उता पराजित ओसासुना भने २८ अंकका साथ १२औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...