रोनाल्डोको गोलले पनि जोगिएन युभेन्ट्स

एजेन्सी । यस सिजन शानदार गोलस्कोरिङ लयमा देखिएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले इटालियन सिरि ए तर्फ युभेन्ट्सका लागि लगातार दशौं गोल गरे तापनि डिफेन्डिङ च्याम्पियनले हेलास भेरोनासँग स्तब्धपुर्ण हार बेहोरेको छ ।

भेरोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन । ६५औं मिनटमा रोनाल्डोले युभेन्ट्सका लागि एक मात्र गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर ७६औं मिनटमा फाबियो बोरिनीले भेरोनाका लागि बराबरी गोल फर्काए भने ८६औं मिनटमा जिआमपाओलो पेजिनीले पेनाल्टीबाट दोस्रो गोल गर्दै टोलीलाई सनसनीपूर्ण जित दिलाए ।

यो जितसँगै २३ खेलबाट ३४ अंक जोडेको भेरोना छैटौं स्थानमा उक्लिएको छ । उता पराजित युभेन्ट्स भने ५४ अंकका साथ शिर्ष स्थानमा यथावत छ । तर, आइतबार हुने मिलान डर्बीमा दोस्रो स्थानमा रहेको इन्टरले एसी मिलानलाई हराए इन्टर शिर्ष स्थानमा उक्लिने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...