अन्तर्राष्ट्रिय फुटबलमा क्यानडाकी कप्तान क्रिष्टिनले बनाइन दुर्लभ किर्तिमान

एजेन्सी । क्यानडाकी महिला फुटबल टोलीकी कप्तान क्रिष्टिन सिन्क्लेयरले अन्तर्राष्ट्रिय फुटबलमा पुरुष र महिला दुवैतर्फ गरेर सर्वाधिक गोल गर्ने किर्तिमान आफ्नो नाममा गराउन सफल भएकी छिन् ।

३६ बर्षे क्रिष्टिनले टेक्सासमा भएको टोक्यो ओलम्पिक छनौटतर्फ सेन्ट किट्स एण्ड नेविस विरुद्ध गोल गर्दै यो दुर्लभ उपलब्धी हासिल गरेकी हुन् । त्यो खेलमा क्यानडा ११–० ले विजयी भएको थियो । साथै क्रिष्टिनले त्यसमा दुई गोल समेत गरेकी थिईन् ।

यो गोलसँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १८५ पुग्यो । जुन एक किर्तिमानी उपलब्धी थियो । यसअघि यो किर्तिमान अमेरिकी खेलाडी एबी वेमब्याकको नाममा थियो । वेमब्याकले कुल १८४ अन्तर्राष्ट्रिय गोल गरेकी थिईन् ।

स्मरण रहोस, पुरुषतर्फ अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान इरानका लिजेण्ड अली दाइको नाममा छ । उनले अन्तर्राष्ट्रिय फुटबलमा कुल १०९ गोल गरेका छन् ।

यो सूचीमा पोर्चुगलका सुपरस्टार क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनले पोर्चुगलका लागि हालसम्म १६४ म्याचमा ९९ गोल गरिसकेका छन् । साथै, आगामी दिनमा उनले अली दाईको किर्तिमान तोड्न सक्ने बलियो सम्भावना पनि छ ।

यो सूचीमा अर्जेन्टिनी स्टार लियोनल मेसी भने १५औं स्थानमा छन् । मेसीले हालसम्म अर्जेन्टिनाका लागि १३८ म्याचमा ७० गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...