ओलम्पिक छनौटको आयोजना अधिकार चीनबाट खोसियो

एजेन्सी । टोक्यो ओलम्पिकको महिला फुटबलतर्फ एसियाली छनौटको समुह बी को खेलहरु चीनबाट सारेर अब अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । रिपोर्टअनुसार हाल चीनमा कोरोना भाइरसको डरले त्यो प्रतियोगिता आयोजनाको अधिकार चीनबाट खोसिएर अष्ट्रेलियाको हातमा पुगेको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि चीनबाट आयोजना स्थल परिवर्तन गरेको कुरा बिहीबार आधिकारिक रुपमा पुष्टी गरेको छ । स्मरणीय छ, यो समूहमा चीनसँगै अष्ट्रेलिया, ताइवान र थाइल्याण्ड रहेका छन् ।

उता छनौट प्रतियोगिता खेल्न चीनको खेलाडीहरु २९ जनवरीका दिन नै अष्ट्रेलियातर्फ प्रस्थान गरेका थिए । यद्यपि अष्ट्रेलिया प्रवेश गर्नु अघि पनि खेलाडीहरुको मेडिकल परिक्षण गरिएको बताइएको छ । त्यसपछि मात्र चीनका खेलाडीहरुलाई अष्ट्रेलिया प्रवेश गर्न दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साथै रिपोर्टअनुसार चीनमा हुने कतिपय अन्तर्राष्ट्रिय खेलकुका स्पर्धाहरु रद्द गरिएको छ वा अन्यत्र सारिएको समेत बताइएको छ । टोक्यो ओलम्पिकका लागि बक्सि छनोट पनि चीन मै हुने भनिएको थियो । तर, अहिले आएर त्यो छनौट प्रतियोगिता जोर्डनमा हुने भएको छ ।

रिपोर्टअनुसार हालसम्म चीनमा २०० भन्दा बढीको कोरोका भाइरसका कारण ज्यान गएको छ भने ६ हजार भन्दा बढी यसको संक्रमणमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...