कोपा इटालियाः सेमिफाइनल समिकरण पूरा

एजेन्सी । मंगलबार मात्र टोटेनह्याम हट्सपरबाट १६.९ मिलियन पाउण्डमा इन्टर मिलान आएका डेनिस मिडफिल्डर क्रिष्टियन एरिक्सनले नयाँ क्लबका लागि सुखद डेब्यु गरेका छन् ।

घरेलु मैदानमा बुधबार राती भएको अन्तिम तथा चौथो क्वाटरफाइनलमा इन्टरले फियोरेन्टिनालाई २–१ ले हराउँदा एरिक्सन वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए ।

म्यानचेष्टर युनाइटेडबाट हाल इन्टरमा लोनमा खेलिरहेका एलेक्सिस सान्चेजको स्थानमा मैदान प्रवेश गरेका एरिक्सनले डेब्यु खेलमा केही हदसम्म आफ्नो प्रभाव छाडे ।

इन्टरको जितमा ४४औं मिनटमा एन्टोनियो कान्ड्रेवाले पहिलो गोल गरे । यद्यपि ६०औं मिनटमा मार्टिन सेसेरसले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए । तर पाहुना टोलीले पनि त्यो बराबरी गोलको खुशीमा धेरैबेर रमाउन सकेन । उता लगते ६७औं मिनटमा निकोलो बरेलाले गोल गर्दै इन्टरलाई रोमाञ्चक जित दिलाए ।

इन्टरको यो जितसँगै कोपा इटालियाको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । इन्टरले अब सेमिफाइनलमा नापोलीको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा दावेदार युभेन्ट्स र एसी मिलान भिड्ने छन् ।

दुई लेगमा हुने सेमिफाइनल भिडन्ततर्फ पहिलो लेगको खेल १२ फेब्रुअरीका दिन हुनेछ भने दोस्रो लेगको खेल ४ मार्चका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...