हारे पनि सिटी फाइनलमा (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी यस सिजनको प्रतिष्ठित काराबाओ कप (लिग कप) को फाइनलमा लगातार तेस्रोपटक प्रवेश गरेको छ । बुधबार राती भएको सेमिफाइनल भिडन्तको दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडसँग १–०ले पराजित भए तापनि सिटीले समग्रमा ३–२ को जितका साथ फाइनल स्थान पक्का गरेको हो ।

सिटीको घरेलु मैदानमा भएको खेलको ३५औं मिनटमा नेमान्जा मेटिकले युनाइटेडका लागि एक मात्र गोल गरे । यद्यपि जित हात पारेर पनि युनाइटेड दुर्भाग्यपुर्ण रुपमा सेमिफाइनलबाट बाहिरिन पुग्यो । स्मरण रहोस, ७ जनवरीका दिन सेमिफाइनलको पहिलो लेगतर्फ ओल्ड ट्राफोर्डमा सिटीसँग ३–१ ले हार्नु नै युनाइटेडका लागि महँगो भईदियो ।

उपाधि रक्षा गर्ने र ह्याट्रिक गर्ने दाउमा रहेको सिटीले १ मार्चका दिन एस्टन भिल्लासँग फाइनल खेल्नेछ । भिल्लाले मंगलबार राती मात्र अर्को सेमिफाइनलमा लेस्टर सिटीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । फाइनल खेल लण्डन स्थित वेम्बली स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...