सनसनीपूर्ण जितका साथ भिल्ला लिग कपको फाइनलमा

एजेन्सी । यस सिजन प्रिमियर लिगमा पनि मिश्रित प्रदर्शन गरिरहेको एस्टन भिल्ला प्रतिष्ठित काराबाओ कप (लिग कप) को भने फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राती भएको सेमिफाइनलमा भिल्लाले नाटकीय र रोमाञ्चक जित निकाल्दै लिग कपको फाइनलमा स्थान बनाउन सफल भयो ।

घरेलु मैदान भिल्ला पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा भिल्लाले पाहुना टोली लेस्टर सिटीमाथि २–१ को रोमाञ्चक जित निकाल्यो ।

खेलको १२औं मिनटमै भिल्लाका लागि म्याथ्यु रोबर्टले पहिलो गोल गरेका थिए । भिल्लाले त्यो अग्रता पहिलो हाफसम्म जोगाउन पनि सफल भयो । तर दोस्रो हाफको ७२औं मिनटमा केलेची लिनाचोले लेस्टरका लागि बराबरी गोल फर्काए ।

त्यसपछिको खेल बराबरी नतिजातर्फ लम्किरहेकी बेला वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अहमद इब्राहिम हसनले इन्जुरी समयको ९३औं मिनटमा निर्णायक गोल गर्दै घरेलु टोलीलाई फाइनलमा पुर्याए ।

स्मरण रहोस, सेमिफाइनलतर्फ पहिलो लेगमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । फाइनलमा अब भिल्लाले अर्को सेमिफाइनलतर्फ म्यानचेष्टर सिटी र म्यानचेष्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...