दोस्रो हाफको ‘स्ट्राइक’ले दक्षिण कोरिया फाइनलमा

एजेन्सी । प्रतियोगिता भरि अपराजित रहेको दावेदार दक्षिण कोरिया जारी एएफसी यु–२३ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सन् २०१६ को उपविजेता समेत रहेको दक्षिण कोरियाले दोस्रो सेमिफाइनलमा बलियो अष्ट्रेलियालाई २–० ले निराश तुल्यायो ।

यो जितसँगै दक्षिण कोरियाले पनि यसै बर्ष जापानमा हुने टोक्यो ओलम्पिकका लागि आफ्नो स्थान सुरक्षित गर्यो । साथै दक्षिण कोरिया किर्तिमानी लगातार नवौंपटक ओलम्पिकका लागि छनौट भएको छ । खेलमा दक्षिण कोरियाले दुवै गोल दोस्रो हाफमा गर्न सफल भयो ।

पहिलो गोल ५६औं मिनटमा किम दाइ–वोनले गरे । त्यस्तै दोस्रो गोल ७६औं मिनटमा लि डोङ–गियोङले गरे । फाइनलमा दक्षिण कोरियाले आउँदो आइतबार साउदी अरबसँग उपाधिका लागि भिड्नेछ ।

उता पराजित अष्ट्रेलियाले भने शनिबार उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि प्ले अफ म्याच खेल्नेछ । यो खेलमा विजयी हुने टोली पनि टोक्यो ओलम्पिकका लागि छनौट हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...